काठमाडौंमा पहिलो पटक देखियो दिपल एस०५ ईभी

काठमाडौं । काठमाडौंको सडकमा नयाँ ईभी दिपल एस०५ पहिलो पटक देखिएको छ । नेपाली बजारमा लन्च गर्ने तयारीमा रहेको सो ईभी यसरी सडकमा देखिएको हो । सो ईभी आगामी भदौ ३ गतेबाट सुरु हुने नाडा अटो शोमार्फत औपचारिक लन्च हुने तयारीमा छ ।

नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लु बृद्धिका अनुसार दिपल एस०५ तीनवटा भेरिएन्टमा उपलब्ध हुनेछ । जसअनुसार, लाइट भेरिएन्टको मूल्य ६२ लाख ९९ हजार, प्लसको ६५ लाख ९९ हजार र म्याक्सलाई ६७ लाख ९९ हजार रुपैयाँ पर्ने बताइएको छ । भन्सार प्रयोजनका लागि सार्वजनिक सो मूल्य पछि परिवर्तन पनि हुन सक्नेछ ।

एस०५ लाई कम्पनीले थाइल्यान्डबाट आयात गरी ल्याउन लागिएको हो । यस इलेक्ट्रिक एसयूभीमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने ब्याट्रीका विषयमा कुनै जानकारी दिइएको छैन ।

चीनमा लन्च हुँदा दिपल एस०५ सो ब्रान्डको ‘इन्टरस्टेलर फ्लाइङ विङ’ डिजाइनमा र पाँच पेन्ट कलरमा उपलब्ध छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४६२०, १९०० र १६०० एमएम छ भने ह्विलबेस २८८० एमएम छ ।

कारमा प्रयोग गरिएको दिपल फोरके इन्टेलिजेन्ट क्यामेरामा ६४जी स्टोरेज स्पेस उपलब्ध छ र यसमा २१ हजार फोटोहरु वा १२ घण्टाको भिडियो स्टोर गर्न सकिन्छ ।

त्यसैगरी यसमा भएको हुवावे एक्सपिक्सेलको सहयोगले चल्ने १.३ मिलियन पिक्सेलको इन्टेलिजेन्ट हेडलाइटले १२० इनचको स्क्रिन प्रोजेक्सन गर्न सक्छ ।

यसमा भएको प्रविधि पनि लोभ लाग्दो छ । यसमा एडेप्टिभ क्रुज कन्ट्रोल, लेन सेन्टरिङ कन्ट्रोल र इन्टेलिजेन्ट पार्किङ असिस्ट जस्ता एड्भान्स्ड ड्राइभिङ असिस्टेन्स फङसनको अनुभवका लागि पाँच वटा हाई डेफिनेसन क्यामेरा, पाँच एमएमका वेभ राडार र १२ अल्ट्रासोनिक राडार रहेका छन् ।

यसमा हाई स्ट्रेन्थ स्टिल आल्मुनियम बडी र ६ एयरब्याग रहेका छन् । यद्यपि नेपालमा उपलब्ध हुने गाडीमा हुने फिचरको वारेमा भने कम्पनीले आधिकारिक रुपमा पछि नै सार्वजनिक गर्ने बताइएको छ ।