क्रोएसियाको नर्सिङ होममा गोली चल्दा पाँचको मृत्यु, कैयौँ घाइते

क्रोएसियाको एक नर्सिङ होममा सोमबार बन्दुकधारीले गोली चलाउँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ। कैयौँ घाइते भएको एचआरटीले जनाएको छ ।

अज्ञात बन्दुकधारीले जाग्रेबबाट करिब १३० किलोमिटर ९८ माइल० पूर्वमा रहेको दारुवरमा रहेको एउटा नर्सिङ होममा प्रवेश गरी गोली चलाउन थालेको राज्य प्रसारक एचआरटीले जनाएको छ।

प्रहरीले स्थानीय समयानुसार बिहान १०ः१० बजे घटनाको जानकारी पाएको र संदिग्धले नर्सिङ होममा प्रवेश गरी बन्दुक प्रयोग गरेको पुष्टि गरेको छ। अपराधमा संलग्न व्यक्ति प्रहरी हिरासतमा रहेको प्रहरीले विज्ञप्तिमा जनाएको छ।

क्रोएसियाली अखबार जुटार्नजी लिस्टले कथित गोली हान्ने व्यक्तिलाई सेवानिवृत्त सैन्य प्रहरी अधिकारी भनेर वर्णन गरेको छ।

प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले घटनाको विस्तृत अनुसन्धान गर्न सम्बन्धित अधिकारीहरूलाई आह्वान गरे।