पोखरा । एनआइसी एसिया बैंकले पोखराबाट मस्टरकार्ड डेविटकार्डको सुरुआत गरेको छ । योसँगै अब पस टर्मिनल र एटिएममा अब मास्टर डेबिट तथा क्रेडिट कार्डको प्रयोग गर्न सकिने भएको छ ।
अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टर कार्डसँगको सहकार्यमा सो सुविधा थप गरिएको बैंकका गण्डकी प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए ।
उनका अनुसार यो सेवापछि कारोबार सुरक्षित हुने विश्वास लिइएको छ । ‘यसबाट हाम्रो सेवालाई अझै सुरक्षित र सहज बनाउने छ । सेवाग्राहीले विना झन्झट सेवा लिन पाउनेछन्,’ उनले भने, ‘हाम्रो लागि पनि यो महत्त्वपूर्ण र ठुलो उपलब्धि हो । ‘
यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टर डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी ग्राहकले एनआइसी बैंकको पस टर्मिनलमार्फत भुक्तानी गर्न तथा एटिएम मेसिनबाट नगद निकाल्न र मौज्दात सोधपुछको सुविधा लिन सक्ने उनले बताए ।
किन पोखराबाट लन्च भयो ?
पोखरालाई सरकारले पर्यटनको राजधानी घोषणा गरेका कारण बैंक पोखरा आएको हो । त्यसो त यसको नेपाल, भारत र भुटानमा सहज प्रयोग गर्न सकिन्छ ।
बैंकले बजारमा भिसा कार्ड प्रचलनमा ल्याएको छ । ‘मास्टर काठमाडौँबाट लन्च गर्न सक्थ्यौँ । पोखराबाट लन्च गर्दा पर्यटकलाई जानकारी होला भनेर यता आएका हौँ,’ गण्डकी प्रमुख शर्मा भन्छन्, ‘हामीले फोकस गरेको पर्यटकलाई नै हो ।’
बैंकका डिजिटल बैंकिङ प्रमुख नरेन्द्र उप्रेतीले पनि पर्यटकलाई लक्षित गरिएकोले पोखराबाट उद्घाटन गरिएको सुनाए । ‘यो कार्ड अमेरिकन र युरोपियन पर्यटकले बढी प्रयोग गर्छन् ।
सबैतिरबाट आउने पर्यटकलाई प्रयोग गर्न सहज हुने भएकोले यहाँबाटै लन्च गरिएको हो,’ उनले भने, ‘पोखरालाई सरकारले पर्यटन राजधानी घोषणा गरेकोले पनि यहाँ हामी उपस्थित भएका हौँ ।’ नेपालमा मास्टर कार्ड प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको र खासगरी होटल, रेष्टुरेन्ट, पर्यटनजस्ता सेवामूलक क्षेत्रमा मास्टरकार्ड प्रयोगकर्ताको सङ्ख्या धेरै भएकोले बैंकले मर्चेन्ट भुक्तानी सेवामा थप टेवा पुर्याएको बैंकले जनाएको छ ।
बैंकले देशभर ३१९ शाखा कार्यालय ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउन्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।
मास्टरकार्ड इन्डियाका प्रतिनिधि पवन शेखले मास्टरकार्ड ग्लोवल टेक्नोलोजीको रुपमा विकास भएको बताए । ‘यो ग्लोवल टेक्नोलोजी हो । यसले सेवाहरू सहज र सुरक्षित हुनेछ,’ उनले भने, ‘नेपालमा यसको सुरुआत गर्न पाएकोमा खुसी लागेको छ ।’ किन पोखराबाट लन्च भयो ?






























