बङ्गलादेशमा अझै भएन धागो निर्यात

काठमाडौँ । नेपालबाट धागो निर्यात गर्न बङ्गलादेशले फूलबारी–बङ्गलाबन्ध नाका खुला गरेको दुई महिना बितिसक्दा पनि अझै निर्यात हुन सकेको छैन । लामो समयदेखि बन्द रहेको सो नाका खुला भएको दुई महिना बितिसकेको छ तर धागो अझै निर्यात हुुन सकेको छैन ।

नाका बन्द हुँदा धागो निर्यात नभएपछि व्यवसायीले नेपालबाट नजिक पर्ने बङ्गलाबन्ध–फूलबारी नाका खुलाउन माग गरेका थिए । बङ्गलादेशले उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयको पहलमा गत फागुन महिनामै सो नाका खुला गरिएको थियो तर प्रक्रियागत काम बाँकी रहेको भन्दै व्यवसायीले धागो निर्यात गर्न सकेको छैन ।

बेनापोल (बङ्गलादेश)–पेट्रापोल (भारत) नाका खुला भए पनि नेपाली व्यवसायीलाई सामान पठाउन टाढा भई लागत महँगो पर्ने हुँदा धागो निर्यात हुन सकेको थिएन ।

फूलबारी–बङ्गलाबन्ध नाका नेपाल–बङ्गलादेशबीचको व्यापारका लागि उपलब्ध गराएको ‘ट्रान्जिट’ हो । पूर्वी नाका काँकडभिट्टाबाट करिब ८० किलोमिटरको दूरीमा बङ्गलादेश रहेको छ ।

व्यापारविज्ञ रवि सैँजूले बङ्गलादेशले धागो निर्यात गर्न नजिकको नाका खुला गरे पनि व्यवसायीले निर्यात गर्न नसकेको बताउनुभयो । बङ्गलादेशमा नेपाली धागोको उच्च माग रहेकाले निर्यात बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिने उहाँको भनाइ छ ।

नेपाल धागो उत्पादक सङ्घका अध्यक्ष पवन गोल्यानले धागो निर्यात गर्न अझै एक महिना लाग्ने जानकारी दिनुभयो । धागो निर्यात गर्न फूलबारी–बङ्गलाबन्ध नाका खुला गरे पनि अझै निर्यात गर्न नसकिएको उहाँले बताउनुभयो ।

निर्यातका लागि ‘ट्रायल अर्डर’ आएको छ तर सामान पठाउन प्रक्रियागत कामले गर्दा निर्यात गर्न समय लाग्ने उहाँको भनाइ छ ।

व्यवसायीका अनुसार बङ्गलादेशबाट थोरै सामानको अर्डर आएको तर ट्रकमा धेरै पठाउनुपर्ने हुँदा तत्काल पठाउन सकेको छैन । बङ्गलादेशमा अब वार्षिक तीनदेखि पाँच अर्ब रुपियाँको धागो निर्यात गर्न सकिने उहाँको भनाइ छ ।

अहिले टर्की, भारत, युरोपमा धागो निर्यात हुने गर्छ । युरोपबाट अन्य देशमा समेत निर्यात हुने गरेको सङ्घको भनाइ छ । सङ्घका अनुसार हाल नेपालबाट विभिन्न देशमा वार्षिक २० देखि २५ अर्ब रुपियाँ बराबको धागो निर्यात गर्न सकिने सम्भावना रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली धागो उच्च गुणस्तरको भएकाले माग बढ्दै गएको व्यवसायीको भनाइ छ ।

नेपालमा धागो प्रशोधन गर्ने चारवटा उद्योग सञ्चालनमा छन् । यसमा करिब १५ अर्ब रुपियाँ लगानी र १० हजारलाई प्रत्यक्ष रोजगारी दिँदै आएका छन् ।

उद्योगको क्षमता बढाउँदै गएकाले पनि पर्याप्त धागो उत्पादन गरेर विदेश निर्यात गर्न सकिने व्यवसायीको भनाइ छ । उद्योगमा दैनिक चारदेखि १२ घन्टासम्म बिजुली जाँदा उत्पादन गर्न समस्या भएको सङ्घका अध्यक्ष गोल्यानको भनाइ छ ।

निर्यात प्रवद्र्धन गर्न छुट्टै नीति बनाएर अति आवश्यक उद्योगका रूपमा बनाएर बिजुली छुटको व्यवस्था भए वार्षिक २५ अर्बसम्म धागो निर्यात गर्न सकिने सम्भावना रहेको उहाँको भनाइ छ ।

सङ्घका अनुसार नेपालमा वार्षिक ५० हजार टन धागो उत्पादन हुन्छ । यसमा १५ हजार टन धागो आन्तरिक खपत र बाँकी सबै निर्यात हुने गर्छ ।

धागोका लागि आवश्यक कच्चा पदार्थ चीन, थाइल्यान्ड, इन्डोनेसियालगायतका मुलुकबाट आयात गरी व्यवसायीले मूल्य अभिवृद्धि गरेर पुनः निर्यात गर्छन् । कच्चा पदार्थ आयात गरी ३० देखि ५० प्रतिशत मूल्य अभिवृद्धि (भ्यालुएड) गरेर धागो निर्यात गर्ने गरेका छन् ।

धागो निर्यातको प्रमुख गन्तव्य बङ्गलादेशले प्रतिबन्ध लगाएपछि नेपालका उद्योग प्रभावित हुँदै आएका थिए । बङ्गलादेश सरकारको निर्णयसँगै नेपाली धागो व्यवसायीलाई राहत मिलेको छ ।

व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नेपालबाट आठ अर्ब ८९ करोड ९७ लाख ७२ हजार रुपियाँको धागो निर्यात भएको थियो ।

अघिल्लो वर्ष सो अवधिमा नौ अर्ब ४८ करोड ५९ लाख ३० हजार रुपियाँ बराबरको निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा धागो निर्यात ६ प्रतिशतले कमी हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।