बेनी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । आयोजना प्रभावित स्थानीयले बेनी हाइड्रोपावरमा आवेदन दिन आज चैत १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले चैत १ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको थियो।

स्थानीयले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेङ समयसम्म आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारमा रहेका नेपालका लागि भने यो आइपीओ गत चैत ५ गतेसम्म खुला गरिएको थियो।

नेपाल धितोपत्र बोर्डले बेनी हाइड्रोपावरलाई जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड ८० लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति दिएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गर्नेछ।

पहिलो चरणमा कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० अंकित दरका १० लाख ४० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको छ। त्यसमध्ये आयोजनाबाट अतिप्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दालाई ५० प्रतिशतले हुन आउने ५ लाख २० हजार कित्ता, आयोजनाबाट प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ र ११ का बासिन्दालाई ३० प्रतिशतले हुन आउने ३ लाख १२ हजार कित्ता र आयोजनाबाट न्यून प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका बासिन्दालाई २० प्रतिशतले हुन आउने २ लाख ८ हजार कित्ता शेयर बिक्री गरिएको छ।

स्थानीयले यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीयले एनएमबि बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा र प्राइम कमर्सियल बैंकको सोलुखुम्बुस्थित नेचा सल्यान शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयर आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।