काठमाडौं । शिखर पावर डेभलपमेन्टले आउँदो माघ ६ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डले १०० रुपैयाँ अंकित दरका ३२ लाख कित्ता शेयर जारी गर्ने अनुमति पाएको छ।
कम्पनीले कुल कित्तामध्ये ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र बागलुङको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरु र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङको ढोरपाटन नगरपालिका बडा नं. २, ३, ४ र ५ का बासिन्दाका लागि जारी गर्न लागेको छ।
यसैगरी सर्वसाधारणका लागि छुट्याइएको २२ लाख २० हजार कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख २२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरिनेछ।
यो आइपीओमा दुवै समूहले १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीयले ग्लोबल आइएमई बैंकका शाखा नक्साल, बुर्तिवाङ र बाग्लुङ बजार, प्रभु बैंकको शाखा ग्वालीचौर, गरिमा विकास बैंकको शाखा बुर्तिवाङ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शाखा बुर्तिवाङबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो शेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित स्थानीयका लागि यो आइपीओ निष्कासन बन्द छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका लागि भने छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गते हुनेछ। शिखर पावरको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।































