काठमाडौं । नेपाल वायुसेवा निगमको सुधारका लागि सरकारले खुला प्रतिस्पर्धाबाट वायुसेवा निगमको महाप्रबन्धक छनोट गर्ने भएको छ । आज सूचना जारी गर्दै महाप्रबन्धक छनोट समितिले योग्य उम्मेदवारलाई आवेदनका लागि आह्वान गरेको हो ।
महाप्रबन्धक बन्न योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आवेदन दिन सक्ने बताइएको छ । योग्यता, पारिश्रमिक तथा सुविधाहरू यसअघि नै सरकारले तय गरी मन्त्रालयको वेभसाइटमा राखिसकेको छ ।
कात्तिक दोस्रो साता खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
समितिमा क्याप्टेन कुलबहादुर लिम्बू विज्ञ सदस्य चयन भएका छन् । मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्नेछन् ।
समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नुपर्ने बताइएको थियो । सोहीअनुसार आज आवेदन आह्वान गरिएको हो ।






























