काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रशोधित पिउने पानीको जारहरूको गुणस्तर अनुगमनलाई तीव्र बनाएको छ। कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको संयुक्त चेकपोस्टमार्फत गरिएको अनुगमनमा पछिल्लो दस दिनमा महानगरका विभिन्न क्षेत्रमा मापदण्डविपरीतका २ सय ६४ थान जारहरू बरामद गरी नष्ट गरिएको छ।
गत शुक्रबार काठमाडौँ ३ मा १५ गाडीमा फेला परेका ५८ थान, बुधबार १६ नम्बर वडामा भेटिएका १३ गाडीमा फेला परेका ४१ थान र यसअघि कोटेश्वरमा ६८ थान, गोङ्गबुमा ५८ थान र बल्खु क्षेत्रबाट ३९ थान कुच्चिएका र अपारदर्शी जारहरू जफत गरि नष्ट गरिएको छ ।
बरामद सबै जारहरू नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा लगाइएको छ। अनुगमनका क्रममा पानी उत्पादक तथा वितरकहरूलाई मापदण्ड विपरीतका जारहरू बिक्री–वितरण नगर्न, लेबल स्पष्ट राख्न, कम्पनीले जारी गरेको बिल/बिजक (चलानी) गाडीमै बोकेर हिँड्न र पानीको गुणस्तरप्रति संवेदनशील भई नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्न निर्देशन दिइएको छ।
विभागले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी यस्ता अनुगमन कार्यलाई निरन्तरता दिएको जनाएको छ । महानगरले जरमा राखिएको पानीलाई वर्षा याममा विशेष गरी राम्रोसँग उमालेर मात्र पिउन अनुरोध गरेको छ।