काठमाडौँ महानगरले असार २९ गते बजेट ल्याउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असार २९ गते बजेट ल्याउने भएको छ । शुक्रवार बसेको कार्यपालिकाको बैठकले असार २९ गते बजेट ल्याउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरपालिकाले असार मसान्तसम्म बजेट ल्याइसक्नुपर्ने दायित्व पूरा गरेको बताउनु भयो ।

असारको २९ गते २ बजे नगर सभा गर्ने गरी बैठक टुङ्ग्याएको जानकारी दिनुभयो । स्थानीय तहले असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान रहे पनि महानगर प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगाले र नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने वडा अध्यक्षहरूको मतभेदका कारण बजेट आउन सकेको थिएन ।

देशकै ठुलो महानगरले समयमा बजेट ल्याउन नसकेको भन्दै काठमाडौँ महानगरको आलोचना हुँदै आएको थियो ।

उहाँले भन्नुभयो,‘आजको बैठकबाट हामीले गर्नुपर्ने जिम्मेवारी दायित्व असार मसान्तभित्र ०८२/०८३ को बजेट ल्याउनुपर्ने थियो । त्यो बजेट ल्याउनको लागि आज कार्यपालिकाको बैठक बसेको हो ।

आजको बैठकबाट असारको २९ गते २ बजे नगर सभा गर्ने गरी बैठक टुङ्ग्याएका छौँ । काठमाडौँ महानगरपालिकाको बजेट आउँदो २९ गते आउँछ ।’ बजेटमा पूर्वाधार, सामाजिक विकास, आर्थिक विकासलाई जोड दिएर बजेट ल्याइने बताउनु भयो ।