नेपाल पुनर्बीमा कम्पनीद्वारा पौने दुई अर्ब अग्रिम भुक्तानी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पौने दुई अर्ब रुपैयाँ बीमा कम्पनीहरुलाई अग्रिम भुक्तानी गरेको छ । कम्पनीले यही असोज २७ र २८ गते समेत गरी दुई दिनमा पौने तीन अर्ब रुपैयाँ भुक्तानी गरेको हो ।

नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापाले भने, ‘हामी तीन अर्ब रुपैयाँ तयार पारेर अग्रिम भुक्तानी लिन आउन भनिरहेका छौं, कम्पनीहरु रकम लिन आइरहेका पनि छन् । सो आधारमा अहिलेसम्म करिब दुई अर्ब ७५ करोड रुपैयाँ बीमा कम्पनीहरुलाई हस्तान्तरण गरिसकिएको छ ।’

गत भदौं २३ र भदौं २४ गते घटेका घटनाहरुमा हालसम्म २३ अर्ब २२ करोड रुपैयाँ बीमा दावी परेको अवस्था छ । सो बीमा दावी मध्ये बीमा कम्पनीहरुले धमाधम अग्रिम भुक्तानी दिइरहेका छन् । बीमा कम्पनीहरुले पनि पुनर्बीमा कम्पनीमा आफ्नो जोखिमको हिस्सा बाँडफाँड गरेको हुँदा पुनर्बीमा कम्पनीबाट रकम प्राप्त गर्ने गर्दछन् ।

नेपाल पुनर्बीमा कम्पनीले हालसम्म पौने तीन अर्ब रुपैयाँ भुक्तानी गरेको र तिहार अघि नै थप रकम दिन तयारी अवस्थामा रहेको जनाएको छ । सिईओ सुरेन्द्र थापाले बीमितहरुलाई कागजात पेश गरी सर्भेयरलाई सहयोग गरेर जतिसक्दो छिटो अग्रिम भुक्तानी माग्न आग्रह गरेका छन् ।
नेपाल पुनर्बीमा कम्पनीका अनुसार थप रकम माग भएको अवस्थामा समेत भुक्तानी दिने तयारीमा कम्पनी रहेको छ ।

जेन जी आन्दोलनमा कूल बीमा दावी २३ अर्ब परेको भएपनि यसको अन्तिम टुंगामो पुग्दासम्म कति हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन ।

थप दावी नपरेको अवस्थामा दावी भुक्तानी हुँदासम्म १८ अर्ब हाराहारीमा झर्न सक्ने विश्वास गरिएको छ । पूर्ण क्षति भनेर दावी गरिएका बीमाहरुमा आंशिक क्षतिमा रुपान्तरण भई काम लाग्ने संरचनाको पुननिर्माण हुने भएमा बीमा दावी घट्ने गर्दछ ।

बीमा कम्पनीहरुले धमाधम अग्रिम भुक्तानी दिइरहेको बेला बीमा कम्पनीहरुलाई तरलता समस्या नहोस् भनेर नेपाल पुनर्बीमा कम्पनीले धमाधम एडभान्स रकम पठाएर दावी भुक्तानीमा सहजिकरण गरिरहेको छ । नेपाल पुनर्बीमा सरकारी लगानीमा सञ्चालित पुनर्बीमा बीमा कम्पनी हो ।