निर्जीवन बीमक प्रभु इन्स्योरेन्सको शेयर जारीकर्ता रेटिङले पायो निरन्तरता

काठमाडौं । निर्जीवन बीमक प्रभु इन्स्योरेन्सको शेयर जारीकर्ता रेटिङलाइ रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले पुनः पुष्टी गर्दै निरन्तरता दिएको छ।

इन्फोमेरिक्स नेपालले आइआरएन त्रिपल बी प्लस रेटिङलाई निरन्तरता दिएको छ। नेपाली वित्तीय बजारमा यस्तो रेटिङ प्राप्त कम्पनीले पूर्व निर्धारित समय सीमाभित्रै वित्तीय दायीत्व पुरा गर्ने सवालमा मध्यमस्तरको सुरक्षाको प्रत्याभूति गर्छ। यस्तो रेटिङले सम्बन्धित कम्पनीले मध्यमस्तरको ऋण वा उधारो जोखिम बोकेको पनि इंगित गर्छ।

सन् १९९५ देखि सञ्चालनमा रहेको प्रभू इन्स्योरेन्सको लामो व्यवसायीक यात्रा, नागरिक लगानी कोष, प्रभू बैंक लगायतका ठूलो संस्थागत लगानीकर्ता, लगानी विविधतालाई सबल पक्षका रूपमा ग्रहण गर्दै इन्फोमेरिक्सले रेटिङ मूल्याङ्कनलाई निरन्तरता दिएको हो।

इन्फोमेरिक्सका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्ममा यसको लगानी १९ प्रतिशतको वार्षिक दरले वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ मा भने दीर्घकालीन मुद्दती निक्षेपहरू परिपक्व भएकाले अल्पकालीन निक्षेपमा लगानी रूपान्तरण भएको थियो। यसबोहक पुनर्बीमा कमिशन पनि आम्दानीको श्रोतका रूपमा रह्यो। कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा लगानीलाई थप विविधिकरण गरिसकेको छ।

कम्पनीको सोल्भेन्सी मार्जिन भने नियामकीय मापदण्डभन्दा ३ गुणा अधिक छ। रेटिङ एजेन्सीका अनुसार १.३ को अनुपातमा यसको सोल्भेन्सी मार्जिक ४.६७ प्रतिशत रहेको छ। यो अनुपातले वित्तीय दायीत्व चुक्ता गर्न उपलब्ध सम्पत्तीको मात्रालाई जनाउँछ।

अघिल्लो आर्थिक वर्षमा यसको दाबी भुक्तानी अनुपात जम्मा ३८ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष २०८१/८२ को तेश्रो त्रैमाससम्ममा ३४ प्रतिशत रह्यो। समिक्षा अवधिमा कम्पनीको जोखिमाङ्कन बचत र कर पछिको मुनाफामा पनि वृद्धि देखिएको छ।

इन्फोमेरिक्सले कम्पनीको चुनौती र दुर्बल पक्षका रूपमा न्यून खुद बीमाशुल्क आम्दानी, तुलनात्मकरूपमा उच्च व्यवस्थापन खर्च, सीमित जोखिम बहन, न्यून खुद धारण अनुपात, अस्थिर नियामकीय प्रावधानलाई औँल्याएको छ।

न्यून खुद बीमाशुल्क आम्दानीका कारण व्यवस्थापन खर्च यस्तो आम्दानीको ६३ प्रतिशत पुगेको छ। बढ्दो घरबहाल खर्च, कर्मचारी खर्च, नियामकीय खर्चका कारण खुद बीमाशुल्क आम्दानीको तुलनामा व्यवस्थापकीय खर्च अनुपात अचाक्ली बढेको देखिएको छ।

अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा यसको खुद धारण ३६ प्रतिशतमा झरेको छ। आर्थिक वर्ष २०७९।८० मा खुद धारण ४० प्रतिशत रहेको थियो। हवाइ बीमामा खुद धारण अनुपात जम्मा २ प्रतिशत रहेको छ।

यसको व्यवसाय वृद्धिदर अनुपात समेत ज्यादै न्यून छ। यसको पछाडी जोखिम व्यवस्थापन समितिको कडाइ र न्यून चुक्ता पूँजी समेत कारणका रूपमा इन्फोमेरिक्सले औंल्याएको छ।