काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ ।
राष्ट्र बैंकले ४२ करोड थान नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि बेइजिङको ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको हो ।
राष्ट्र बैंकका अनुसार नोट छाप्नका लागि उक्त कम्पनीलाई बोलकबोल मार्फत छनोट गरिएको हो । सोमबार उक्त कम्पनीसँग करार सम्झौता समेत गरिएको छ ।
उक्त कम्पनीलाई नोटको डिजाइन तथा छपाइका लागि एक अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी दिइने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।































