एनएमबि बैंकको पहिलो त्रैमासः वित्तीय विवरण प्रकाशित

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २०.०४ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकले २ अर्ब ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९९ करोड खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशत बढेको छ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २३.४७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.३१ प्रतिशत घटेको छ। यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९४ करोड रूपैयाँ रहेको छ।

१८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा २ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ घटेर १९ रुपैयाँ ९५ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ।