काठमाडौँ । विश्व गैरसरकारी संस्था दिवस आज विश्वभर मनाइँदैछ । गैरसरकारी संघसंस्थालाई समाज विकासमा थप हौसला दिन संयुक्त राष्ट्रसंघ (यूएनओ)ले हरेक वर्षको फेब्रुअरी २७ मा यो दिवस मनाउने गरिएको छ ।
यस दिवसको यस वर्षको मूल नारा ‘समावेशीता मार्फत सम्मान पुनःस्थापना’ रहेको छ । यस दिवसले समाजका सीमान्तकृत, पिछडिएका तथा अवसरबाट वञ्चित समुदायको अधिकार संरक्षण, सशक्तीकरण र समान सहभागिता सुनिश्चित गर्न गैरसरकारी संस्थाहरूले खेलेको योगदानलाई विशेष रूपमा उजागर गर्ने लक्ष्य राखेको छ ।
विश्वभर मनाइने यस अवसरमा विभेद न्यूनीकरण, मानवियता अभिवृद्धि तथा समुदायमै आधारित विकासलाई प्रवर्द्धन गर्ने विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिँदैछन् ।
सामाजिक रूपान्तरण, शिक्षा, स्वास्थ्य, महिला तथा बालअधिकार, वातावरण संरक्षणलगायत क्षेत्रमा गैरसरकारी संस्थाहरूले पुर्याएको योगदानको सम्मानसमेत यस दिवसमार्फत गरिन्छ ।
आज विश्वमा लाखौं गैरसरकारी संघसंस्था क्रियाशील छन् । समाज कल्याण परिषद्ले नेपालमा कार्यरत गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको दर्ता तथा नियमन गरिररहेको छ ।
विशेषतः दिवसले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा गैर–सरकारी संस्थाले समाजमा पुर्याएको योगदान र अन्य गतिविधिहरूको महत्वलाई विश्वसामु प्रस्ट पार्ने प्रयास गर्दछ । विश्वको तथ्यांकलाई हेर्ने हो भने कुनै पनि देशमा जब राज्य कमजोर हुन्छ, गैरसरकारी संस्थाको (गैसस) प्रभाव बढेको देखिन्छ ।
विश्वका धैरै देशहरुमा गैससको उपस्थिति छ र अनुसन्धानले के देखाउँदछ भने विश्वका करिब ८० प्रतिशत जनताले गैरसरकारी संस्था सकारात्मक सामाजिक परिवर्तनमा भूमिका खेलेको विश्वास गर्दछन् ।





























