चुनौतीका चाङबीच ६७ वर्ष लाग्यो राष्ट्रिय ध्वजावाहक

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले १७ असार २०१५ (तद्नुसार १ जुलाई १९५८) स्थापनाकालदेखि सेवा प्रारम्भ गरेयता दुर्गम क्षेत्र पनि सुगम बन्दै गइरहेका छन् । अधिकांश विकट पहाडी ठाउँमा समेत उसले आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ । वैदेशिक मुद्रा आर्जन गर्ने अन्तर्राष्ट्रिय उडानलगायत ‘ग्राउन्ड ह्यान्डलिङ’ अर्थात् ‘भूमिस्थ सेवा’ अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट सेवाबापत निगमले इन्टरनेसनल सेफ्टी अडिट फर ग्राउन्ड अपरेटर (आईएसएफजीओ) प्रमाणपत्रसमेत प्राप्त गरेको छ । त्यसो त, निगम सम्पूर्ण सेवालाई प्रमुखतासाथ अघि बढाउन प्रयासरत पनि छ ।

देशमा हवाई इन्धन आपूर्ति नहुँदा निगमको विमानले विदेशबाट इन्धन आपूर्ति समेत गरेका थियो र आन्तरिक उडानका अन्य विमानलाई पनि इन्धन वितरण गरेको थियो । साथै, काबुलमा विस्फोटमा परेका निर्दोष नेपालीको शव ल्याउने र कोरोना (कोभिड–१९) महामारीमा औषधिलगायत विदेशमा बस्ने नेपाली र नेपालमा बसेका विदेशीलाई गन्तव्यमा पुर्‍याउने काम समेत गरेर देशमा सेवा गर्ने र महाभूकम्पका बेला विदेशबाट निःशुल्क सामान ल्याउनुका साथै अन्य तवरले पनि सेवा पुर्‍याइरहेको छ ।

नाफा आर्जनमा मात्र आफूलाई सीमित नराखी यसले सेवा भावनालाई प्राथमिकता दिँदै आएको छ । अन्य यातायातका साधन नभएका दुर्गम क्षेत्रका जनतालाई अपेक्षाकृत सस्तो दरमा सेवा उपलब्ध गराउनुका साथै त्यस्ता ठाउँमा दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री पु¥याउनसमेत निगमले सक्रियता लिँदै आएको छ । तर, यसबापत सरकारबाट कुनै अनुदान प्राप्त गरिँदैन ।

आन्तरिक उडानमा घाटा सहेर पनि निगमले आफूलाई बढी सेवामुखी बनाएको छ भने बाह्य उडान पनि तुलनात्मक रूपमा सस्तो बनाइएको छ । नियमित, स्तरीय एवं विश्वसनीय सेवा दिनु निगमको प्रमुख लक्ष्य हो । अहिले आन्तरिक तथा बाह्य सेवामा निगमले बर्सेनि लाखौं स्वदेशी–विदेशी यात्रु तथा पर्यटक ओसारपसार गर्छ र करोडौं बराबरको विदेशी मुद्रा आर्जन गरेर देशको अर्थ व्यवस्थामा सघाउ पु¥याएको छ । तर, विमानको कमीले प्रतिस्पर्धामा अनेक असुविधा र कठिनाइ पनि यसले सहनुपरेको छ । यसबाट सुचारू रूपमा विमान सेवा सञ्चालन गर्नमा निगमलाई अनेक बाधा छन् तापनि सम्भव भएसम्मका सेवा निगमले उपलब्ध गराइरहेकै छ ।

विदेशका धेरै मुलुकमा राष्ट्रिय ध्वजावाहकका रूपमा नेपालको छवि विश्वमा फैलाउने कार्यमा निगम उत्तिकै क्रियाशील छ । स्वदेशका ८ हजार मिटरभन्दा अग्ला हिमाल सगरमाथा, ल्होत्से, चोयु, ल्होत्से सोर, यालुंगखान वेस्ट, कञ्चनजंघा साउथ, मकालु, ल्होत्से मिडल, धौलागिरि, मनास्लु, कञ्चनजंघा, अन्नपूर्ण, कञ्चनजंघा सेन्टर तथा अन्य थुप्रै हिमाली क्षेत्रमा यात्रुलाई निगमले आफ्ना विमानमार्फत दृश्यावलोकन गराइरहेको छ भने भारतको नयाँदिल्ली, मुम्बई, बैंगलोर लगायत विदेशतर्फ क्लालालम्पुर, दुबई, दोहा, रियाद, बैंकक, हङकङ र नारिताजस्ता थुप्रै स्थानमा सेवा पु¥याउँदै आएको छ । निगमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धेरै उडान कटौती गरे पनि अस्ट्रेलिया, पेरिस, लन्डन, जर्मन, सिंगापुर, कोलकाता, श्रीलंका, पटना, ढाकाजस्ता अन्य कटौती भइसकेका स्थानमा पनि अब उडान भर्नु आवश्यक छ ।

कोरोना केही नियन्त्रण भएको अवस्थामा र आगामी वर्षदेखि पर्यटक संख्यामा उल्लेख्य वृद्धि हुने आशा सबैमा पलाएको छ । निगमले र विश्वका ठूला–ठूला वायुसेवा निगमले उडान गर्ने दोहा, दुबई, रियादसँग सीधा हवाई सम्पर्क भएकाले युरोप र अमेरिकाका पर्यटक नेपाल आउन सजिलो भएको छ । तर, पर्यटक संख्यामा अन्य देश भएर नेपालमा आउने पर्यटकलाई सबभन्दा महँगो भाडादरमा नेपाल सरकारले हवाई टिकटमा भ्याट लगाएपछि झन् महँगो पर्न आए पनि पर्यटन आगमनमा वृद्धि हुने आशा पलाउनु स्वभाविकै हो ।

खाडी राष्ट्रमा काम गरिरहेका करिब १० लाख नेपाली श्रमिकको आवतजावतमा पनि यस उडानले सुविधा पु¥याएको छ । रियाद, दुबई, दोहासँग सीधा हवाई सम्पर्क भइरहेका कारण विदेशी पर्यटकले भारत हुँदै नेपाल आउनुपर्ने बाध्यता पनि हट्न गएको छ । राष्ट्रका लागि यसलाई ठूलो उपलब्धि मान्नुपर्छ ।

नेपालका पर्यटन व्यवसायलाई अग्रगति दिन नेपाल वायुसेवा निगम, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, निजी हवाई कम्पनी तथा ट्राभल एजेन्सी, पर्वतारोहण संघ, ट्रेकिङ कम्पनी, यातायात व्यवसाय र होटलको महत्वपूर्ण भूमिका रहेकामा कुनै शंका छैन

नेपालका पर्यटन व्यवसायलाई अग्रगति दिनका लागि नेपाल वायुसेवा निगम, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, निजीस्तरका हवाई कम्पनी तथा विभिन्न ट्राभल एजेन्सी, पर्वतारोहण संघ, ट्रेकिङ कम्पनी, यातायात व्यवसाय र होटलको महत्वपूर्ण भूमिका रहेकामा कुनै शंका छैन । अन्य विभिन्न संघसंस्थाको पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सम्बन्ध रहेको छ । तर, सम्बन्धित सम्पूर्ण निकायबीच आवश्यक समन्वय र सामञ्जस्य हुन नसक्दा यसले पर्यटन व्यवसायलाई असर पारेको छ र अस्वस्थ प्रतिस्पर्धाका कारण आफ्नो लक्ष्य प्राप्तिका लागि कठिनाइ भइरहेको छ ।

सरकारी नीति निर्धारण गर्ने, चालकदल, हवाई–कम्पनीमा कार्यरत कर्मचारी, हवाई कम्पनीका मालिक, सरकारी निगमको व्यवस्थापन पक्षसँग सम्बन्धित व्यक्ति र उड्डयनसँग सम्बन्धित व्यक्तिका दृष्टिकोणमा समन्वय र सामञ्जस्य ल्याउन नसकेसम्म (खानेपानी प्राधिकरण, नेपाल टेलिकम, सडक विभाग, महानगरपालिकाबीचको असामान्यजस्यता जस्तै) र राष्ट्रिय हितमा ती सबैलाई प्रयोग गर्न नसकेसम्म आन्तरिक र बाह्य दुवै पर्यटनको एवं पर्यटन व्यवसायको समेत भविष्य उज्ज्वल बनाउन अत्यन्त कठिन पर्नेमा कुनै विवाद हुन सक्दैन । नेपालको अधिकांश भूभाग पहाड र पर्वतले भरिएको छ । त्यसैले, यहाँ उड्डयनको विशेष महत्व छ ।

नेपालमा हाल ६० विमानस्थल छन् र तीमध्ये २५ विमानस्थल पुनर्निर्माण जारी र ३५ कच्ची विमानस्थल छन् । ती सबै विमानस्थल संरक्षण गरेर समुचित ढंगले उपयोग गर्ने हो भने त्यसले नेपालको पर्यटन क्षेत्रलाई धेरै फाइदा पु¥याउनेछ । आगामी दिन नेपालमा विदेशी पर्यटक संख्या बढ्ने निश्चितप्रायः भएकाले विमानस्थल जुनसुकै समय पनि प्रयोग गर्न सकिने स्थितिमा राख्नु आवश्यक छ ।

नेपाल वायुसेवा निगमले पर्यटक कमी हुने जुनसुकै मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्नुको सट्टा पर्यटक बढी हुने मुलुकसँग बढी सम्बन्ध विस्तार गर्ने हो भने ४२ मुलुकको सट्टा त्यसभन्दा कम मुलुकसँग भएको द्विपक्षीय हवाई सम्झौताले पनि नेपालको पर्यटन व्यवसायलाई ठूलो टेवा पुग्नेछ । नेपाल’दयगत समाचार सम्प्रेषण गर्दा नवीन पद्धतिअनुरूप आकर्षक रूपबाट विदेशीलाई समाचार–सम्प्रेषण गर्नु आवश्यक छ ।

विदेशमा रहेका निगमका कार्यालय व्यवस्थापन र अन्य पक्षमा कुनै कमजोरी रहेका छन् भने तिनलाई सुधार गरेर ती कार्यालयमार्फत निगम र नेपालका विषयमा उचित र जानकारीमूलक समाचार सम्प्रेषण गर्न पनि सकिन्छ । ती कार्यालयको प्रभावकारी भूमिकाबाट पनि नेपालले प्रशस्त वैदेशिक मुद्रा आर्जन गर्ने सम्भावना रहन्छ । सरकारले पर्यटन उद्योगलाई मुलुकमा अन्य उद्योगसरह प्रेरणा, न्यायिक सुरक्षा र सुविधा उपलब्ध गराई पूर्ण मान्यता दिनुपर्छ एवं निजी क्षेत्रसँगको कार्यगत सम्बन्ध सुदृढ बनाउँदै सरकारले मुलुकमा सर्वसाधारण जनता, उद्योग एवं पर्यटन क्षेत्रमा शान्ति सुरक्षा प्रत्याभूति दिनुपर्छ ।

पर्यटनसम्बद्ध व्यावसायिक सेवालाई प्रस्ट रूपले परिभाषित गरी एकअर्काका क्षेत्रमा अनधिकार रूपमा गर्ने गरेका व्यावसायिक क्रियाकलाप अविलम्ब अन्त्य गराउनेतर्फ पनि सरकार संवेदनशील हुनु आवश्यक छ । तर, नेपाल सरकारले पर्यटन क्षेत्र विकासमा विशेष ध्यान दिएको देखिँदैन ।

नेपाली आकाशमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि दिन प्रतिदिन प्रतिस्पर्धा बढ्दो छ । यस प्रतिस्पर्धामा निगमको उन्नति र अस्तित्वका लागि पनि साधनस्रोत थप हुनु आवश्यक छ । हाल निगमसँग रहेका विमानले मात्र बजारको माग पूरा गर्नसक्ने अवस्था छैन ।

मागअनुसारको सिट तथा सेवा उपलब्ध गराउन नसक्दा निगमको बजार अंश घट्दै गएको छ भने सेवा विस्तारका साथै नियमितता र विश्वसनीयतामा असर पनि पर्न थालेको छ । विमान संख्या सीमितता निगमको प्रमुख चुनौती हो । उमेरका कारण कयौं कर्मचारीले अनिवार्य अवकाश लिँदैजाँदा ती पद प्रतिस्पर्धाका आधारमा पूर्ति नगरिँदा निकै अप्ठ्यारो स्थिति आउन देखिएकाले यसतर्फ व्यवस्थापन सक्रिय भई नयाँ र उपयुुक्त जनशक्ति सेवामा समाहित गराइरहेको छ । अब जहाज थप गर्नेतर्फ पनि उसको ध्यान केन्द्रित भएको छ ।

निगमले कार्ययोजना तयार गर्दा विमान थप्ने विषयलाई विशेष प्राथमिकतामा राखेको छ । निगमका गन्तव्य खुम्चिँदै गएको र बजारको अंश घट्दै गएको तर्फ ध्यान पुर्‍याउनुपर्छ । निगम व्यवस्थापनले समयबद्ध तथा चरणबद्ध रूपमा विमान थप्दै जाने कार्ययोजना बनाई तदनुरूप सक्रिय भएको छ । व्यवस्थापकीय सुधारतर्फ पनि निगम सक्रिय हुँदै छ । नयाँ जनशक्ति प्रवेशका साथै भएकालाई आवश्यक तालिम उपलब्ध गराई सक्षम एवं एवं प्रतिस्पर्धी बनाउने कामलाई निरन्तरता दिइएको छ ।

यी पक्षमा ध्यान दिँदै तदनुरूप नीतिनिर्माण गर्नुका साथै अन्य सम्भावित मुलुकमा बजार प्रवर्धन गर्नुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक स्वरूप एवं सुविधा विकासका लागि अविलम्ब उपयुक्त कदम चालिनुपर्छ र ‘खुला आकाशनीति’लाई कागजमै सीमित नराखी नियमित उडानलाई प्राथमिकता दिई थप सुविधा र सहुलियत प्रदान गरिनुपर्छ । प्राधिकरणले (हाल पार्किङ गरेर राखेको स्थान) पूर्वतर्फको खाली जग्गालाई सानातिना जहाज उडान गर्न सक्नेगरी व्यवस्थित गर्न सकिन्छ भने गुहेश्वरीतिर पुराना जहाज पार्किङ गर्न सकिन्छ ।

दक्षिणतर्फको हालको विमानस्थललाई लम्बाईतर्फ गरी १५ वटा विमान पार्किङ क्षेत्रबाट १५ देखि २० वटासम्म विमान व्यवस्थित तवरले राख्न सकिन्छ । हेलिकोप्टर पार्किङ नलिञ्चोक भक्तपुरमा राखेकामा स्वागतयोग्य छ । जसबाट ट्राफिकजाम कम हुने देखिन्छ ।