मौद्रिक नीति समीक्षाका व्यवस्थाहरु कार्यान्वयन गर्न एकीकृत निर्देशनमा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत गरिएका व्यवस्थाहरु कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गरेको छ ।

केन्द्रीय बैंकले मौद्रक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेको थियो ।

सोमबार एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्र बैंकले उक्त व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्था र लघुवित्त कम्पनीहरुलाई पनि निर्देशन दिएको हो ।

यस व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुको नाफामा सकारात्मक प्रभाव पर्नेछ । यस्तै, व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (लोन टु भ्याल्यू रेसियो) को सीमालाई ६० प्रतिशत गर्न निर्देशन दिएको छ ।

यसअघि भने यस्तो अनुपात इभी मा ८० प्रतिशत र पेट्रोल–डिजेल गाडीमा ५० प्रतिशत थियो । राष्ट्र बैंक गत साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यी व्यवस्थाहरु ल्याएको थियो ।