धादिङ । पृथ्वी राजमार्गको धार्केमा १८ घण्टादेखि बन्द भएको यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
धुनिबेंसी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएपछि सोमबार अपरान्ह ४ बजेदेखि ठप्प बनेको राजमार्ग मंगलबार बिहान १० बजेबाट एकतर्फी सञ्चालनमा आएको छ ।
भासिएको ठाउँमा ग्याविन जाली भरेर एकतर्फी गाडी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक शन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले लगातार १८ घण्टा काम गरेपछि अस्थाइ रूपमा सडक सञ्चालन गर्न सकिने अवथामा आएको थियो ।
यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा लागेको सबारी जाम हटाउन कठिनाइ भएको थियो । पूर्व पश्चिमका जिल्लाबाट रातीको समयमा धादिङ आइपुगेका सवारीलाई प्रहरीले जोगिमारा, मलेखु, घाटबेंसी, आदमघाट लगायतका प्रहरी चौकी र बजार क्षेत्र आसपासमा रोकेर राखेको थियो । राजमार्ग एकतर्फी सञ्चालन आए पनि मंगलबार अबेरसम्म पनि राजमार्गको जाम हटेको छैन । नागढुंगा नौबिसे क्षेत्रमा समेत सवारी साधनको जाम लागेको छ ।
कसरी भासियो पुल छेउको सडक ?
पृथ्वी राजमार्ग फराकिलो बनाउनका लागि ठेक्कामा काम भइरहेको छ । यतिखेर नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डको काम चलिरहेको छ ।
यसअन्तर्गत सडक फराकिलो पार्नका लागि घुम्तीहरू काटिएको छ भने पुलहरू भएको ठाउँमा पुल बनाउनका लागि फाउन्डेसन खन्ने काम भइरहेको छ । गणेश खोला पुलको छेउपट्टी खन्दै गर्दा वर्षासमेत भइरहेको कारण पुल छेउको भाग लडेको थियो ।
यस क्षेत्रमा जोखिम बढेको कुरा स्थानीय बासीले समेत पटकपटक उठाउँदै आएका थिए । सोमबार दिउँसो पुलको छेउमा केही भाग लडेपछि एकतर्फी सवारी आवागमन सञ्चालन गरिएको थियो ।
सोमबार दिउँसो ३ः३० बजेतिर मुख्य सडकको बिचभाग नै भासिएपछि आवागमन बन्द भएको र नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी, स्थानीयबासीको सहयोगमा १८ घण्टा काम गरेर ‘लाइफलाइन’ मानिएको सडक सञ्चालनमा आएको नागढुंगा मुग्लिन सडक योजना पूर्वी खण्डका इन्जिनियर जयराम अधिकारीले बताउनुभयो ।
अधिकारीका अनुसार नागढुंगा मुग्लिन क्षेत्रमा यस किसिमका १५ ओटा पुलहरू बनाइने ठेक्का योजनामा उल्लेख छ । १ सयभन्दा बढी कल्भर्टहरू रहेको छ ।
नागढुंगा– नौबिसे सडकको ठेक्काअनुसार काम सम्पन्न गर्नका लागि अझै १ वर्ष ३ महिना समय बाँकी छ भने नौबिसे –मुग्लिनको काम सम्पन्न गर्नका लागि २ वर्ष ३ महिना समय बाँकी रहेकोले द्रुत गतिमा काम गर्नुपर्ने अवस्थामा रहेको प्राविधिकहरूको भनाइ छ ।
यो घटनाबाट राजमार्गमा नियमित सवारी साधन चल्ने क्षेत्र भएकोले अब नयाँ पुलको फाउन्डेसन खन्दा पुरानो पुलको छेउछाउँको भागलाई सुरक्षित गरेर खन्नुपर्ने पाठ सिकाएको इन्जिनियर अधिकारीको भनाइ छ ।
पुलको आयु
पृथ्वीराजमार्ग अन्तर्गतका पुलहरू सबै कंक्रिटका रहेको पाइएको छ । कंक्रिटको पुलहरूको आयु एकसय वर्षको हुने इन्जिनियर अधिकारी बताउनुहुन्छ । करिब ३५ वर्षअघि निर्माण गरिएका राजमार्गका पुलहरू हालका लागि सानो भएकोले सडक बिस्तार गर्दा अर्को पुल बनाउनु परेको हो ।
सडक बिस्तारका लागि बनाइने पुल एकतफी हुनेगरी बनाउन लागिएको छ । पुरानो पुलसँगै २ मिटर टाढा नयाँ पुलको फाउन्डेसन हुनेगरी डिजाइन गरिएको प्राविधिकहरु बताउँछन् ।
पृथ्वी राजमार्ग निर्माणको समयमा बनाइएका पुलहरूको अवस्था मजबुत रहेको, प्राविधिक रूपले उपयुक्त रहेको पाइएको र छेउको भागलाई मजबुत बनाउने गरी सडक निमार्णको काम भइरहेको बताइएको छ ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।