तीन महिनाको औषत आधार व्याजदर भन्दा कममा कर्जा लगानी गर्न नपाइने

बैंकहरुले अवदेखि मासिक तथा पछिल्लो तीन महिनाको औषत आधार व्याजदरलाई आफ्नो वेवसाइट मार्फत देखाउनु पर्नेछ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई पछिल्लो तीन महिनाको ओषत आधार व्याजदर भन्दा कममा कर्जा प्रवाह नगर्न निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकिकृत निर्देशन २०७९ लाई परिमार्जन तथा संशोधन गर्ने क्रममा यस्तो व्यवस्था थप गरेको हो । यस भन्दा अगाडी आधार व्याजदर भन्दा कममा कर्जा प्रवाह गर्न नपाउने व्यवस्था थियो ।

बैंकहरुले अवदेखि मासिक तथा पछिल्लो तीन महिनाको औषत आधार व्याजदरलाई आफ्नो वेवसाइट मार्फत देखाउनु पर्नेछ ।

कुनै व्यक्ति वा फर्मलाई प्रदान गरिने कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा आधार दरमा थप गरिने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ ।

उदाहरणका लागि कुनै ग्राहकलाई प्रदान गरिने कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरमा २ प्रतिशत विन्दुले प्रिमियम थप गर्ने भएमा सोहि अनुसार व्याजदर तय गर्नु पर्नेछ ।

कर्जाको व्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्नेछ ।

तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न यस व्यवस्थाले वाधा पर्नेछैन ।

यसरी पछिल्लो तीन महिनाको औसत आधार दरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने/नहुने सम्बन्धमा ऋणीलाई offer letter मा स्पष्ट रुपमा उल्लेख गरी अनिवार्य जानकारी दिने व्यवस्था गर्नुपर्नेछ ।

परिवर्तनीय ब्याजदर आधार दरसँग आबद्ध गर्दा इजाजतपत्रप्राप्त संस्थाको Core Banking System मार्फत पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तन अनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणालीको व्यवस्था गर्नु पर्नेछ ।

साथै, व्याजदर घटाउदा वा बृद्धि नगर्दा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउनु पर्नेछ ।